सोलुखुम्बु। नेचासल्यान गाउँपालिकाका वडा नं. ३ र ४ अन्तर्गत पर्ने पहेले, भदौरे, लखने र टारी क्षेत्रका ४२ घरधुरीमा अब केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ। वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आएका स्थानीय बासिन्दाका लागि यो उपलब्धि केवल बिजुलीको विस्तार मात्र नभई सामूहिक प्रयास, एकता र साहसको प्रेरणादायी उदाहरण बनेको छ।
स्थानीय बासिन्दाको करिब २५ दिनको निरन्तर श्रमदान र चन्द्र आचार्यको सक्रिय नेतृत्व ले यो काम सम्भव भएको हो। विकासका लागि केवल राज्यको प्रतीक्षा गर्ने प्रवृत्तिलाई तोड्दै, समुदायले आफैं जुटेर असम्भव जस्तो देखिएको काम सम्पन्न गरेका हुन्।
अभियान सफल बनाउन विभिन्न पक्षको महत्वपूर्ण सहयोग रहेको थियो। सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा ले आवश्यक सहयोग प्रदान गरेका थिए भने नेपाल विद्युत् प्राधिकरण, सोलुखुम्बु शाखा ले प्राविधिक समन्वय गरेको थियो।
प्राविधिक तथा सामाजिक क्षेत्रमा लक्ष्मण कटेल, अर्जुन दाहाल र तेज आचार्य लगायत स्थानीय समाजसेवीहरूको सक्रियता उल्लेखनीय रहेको बताइएको छ। नेतृत्वकर्ता चन्द्र आचार्यका अनुसार, “यो अभियानले देखाएको छ कि समुदाय एकजुट भएमा वर्षौँदेखि रोकिएका विकासका काम पनि सम्भव हुन्छन्।”
बस्तीमा बिजुली पुगेपछि अहिले स्थानीयवासीमा उत्साह र खुसीयाली छाएको छ। स्थानीयहरूले यो उपलब्धिलाई आफ्नै श्रम, नेतृत्व र सहयोगी मनहरूको साझा सफलता भन्दै आभार व्यक्त गरेका छन्।
यस घटनाले जनसहभागिता र सहकार्य विकासको सबैभन्दा बलियो आधार हुनसक्ने सन्देश दिएको छ।