काभ्रे।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले स्थानीय युवालाई लक्षित गर्दै निःशुल्क लोकसेवा आयोग तयारी विशेष कक्षा सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको उक्त कक्षा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको सहायकस्तर तहको पाठ्यक्रममा आधारित रहने गाउँपालिकाले जनाएको छ। लोकसेवा क्षेत्रमा भविष्य बनाउन चाहने योग्य तथा इच्छुक नागरिकलाई प्रतिस्पर्धात्मक परीक्षामा सक्षम बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको हो।
सूचना अनुसार रोशी गाउँपालिकाका स्थायी बासिन्दा, १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका (महिलाको हकमा ४० वर्ष ननाघेका) तथा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +२ वा सो सरह उत्तीर्ण व्यक्तिले आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहनेले शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइज फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण (CV) र तयारी कक्षामा सहभागी हुन निवेदन संलग्न गर्नुपर्नेछ।
गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरेको छ। यस कार्यक्रममार्फत स्थानीय युवालाई सरकारी सेवातर्फ आकर्षित गर्दै रोजगारीका अवसर बढाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।