नेचामा ५५ लाख लागतमा बन्ने प्रहरी कार्यालय भवनको पूर्वमन्न्री बल बहादुर केसीद्वारा शिलान्यास

  • प्रकाशित मिति : August 26, 2025
  • sthaniyasarkar.com

 नेचा । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–स्थित नेचा बिहीबारे बजारमा रहेको इलाका प्रहरी कार्यालयको नयाँ भवनको शिलान्यास भएको छ।

पुरानो भवन जीर्ण अवस्थामा रहेकाले नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ भवन निर्माण थालिएको हो। आर्थिक वर्ष २०८२/८३ को गाउँपालिकाको ७७ लाख रुपैयाँको बजेटबाट निर्माण सम्पन्न गरिने योजना अनुसार सो भवन ५५ लाख ७६ हजार ४ सय ७७ रुपैयाँको लागतमा निर्माण गर्न ठेक्का लिइएको हो। निर्माण कार्य रिद्धि सिद्धि कन्ट्रक्सन प्रा. लि., काठमाडौं ले जिम्मा लिएको छ ।



शिलान्यास समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका नेपाली काँग्रेसका कार्यसम्पादन समिति सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसी ले भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा बोल्दै उहाँले जनताको आवश्यकता पहिचान गरेर राजनीति भन्दा माथि उठी विकासमा लाग्न जनप्रतिनिधिहरूलाई सुझाव दिनुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राई ले भवन निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको जनाउँदै, सम्पूर्ण पक्षलाई निर्माण कार्यमा सहयोग गर्न आह्वान गर्नुभयो।

नयाँ भवनमा एउटा हल, दुईवटा कोठा, शौचालय र बाथरूमसमेत रहनेछ। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिना राई, प्रमुख प्रशासकीय अधिकृत, सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, वडा अध्यक्ष तथा अन्य स्थानीयको उपस्थिति रहेको थियो।

नयाँ भवन आगामी पुष मसान्तभित्र सम्पन्न गरिने रिद्धि सिद्धि कन्ट्रक्सनले बताएको छ।