त्रिपुरा। कृषि विकास कार्यालय, काभ्रेको सहजीकरण तथा सुरुवात कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा आज त्रिपुरासुन्दरी गाउँपालिका–५, तौथलीमा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। समुदायमा आधारित “एक वडा, एक कृषि उत्पादन कार्यक्रम” अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीय कृषकहरूलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्न विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको हो।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष श्री भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष श्री गीता कुमारी नेपाल र वडा नं. ५ का वडा अध्यक्ष श्री यादव श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले गाउँपालिकाले कृषि उत्पादनलाई प्राथमिकतामा राखेको र यस्ता कार्यक्रमले कृषकको आयआर्जनमा वृद्धि पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा गाउँपालिकाका कर्मचारी, सहकारीका पदाधिकारी तथा स्थानीय कृषकहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।