नेपाली काँग्रेसले क्रियाशील सदस्यता वैशाख १५ सम्म

  • प्रकाशित मिति : April 20, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली काँग्रेसले क्रियाशील सदस्यता तथा नवीकरणको अन्तिम मिति तोकेको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले ७३ जिल्लालाई नवीकरण र नयाँ क्रियाशील सदस्यताको इन्ट्री गर्न वैशाख १५ को अन्तिम मिति निर्धारण गरेको छ ।

केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकका अनुसार बैशाख १५ गते राति १२ बजेदेखि नवीकरण र नयाँ क्रियाशील सदस्यता कम्प्युटर सफ्टवेयरमा इन्ट्री हुने सिस्टम स्वतः बन्द गरिने छ ।

यस्तै क्रियाशील सदस्यता नवीकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेबी रकम लगायतका कागजातसहित जिल्लाको प्रतिवेदन वैशाख १७ गते ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु बैठकले निर्देशन दिएको छ ।

लेखकका अनुसार अन्य राजनीतिक दलबाट नेपाली काँग्रेसमा प्रवेश गरेका सदस्यहरुको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा “अन्य राजनीतिक दल समायोजन समिति” को निर्णय अनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका) क्रियाशील सदस्यताका फारम बैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने छ ।