काङ्ग्रेस महाधिवेशन : लुम्बिनी र कर्णाली प्रदेशमा पौडेल पक्ष हावी

  • प्रकाशित मिति : September 29, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी र कर्णाली प्रदेशको पालिका अधिबेशनको नतिजा सार्वजनिक भैसकेको छ। लुम्बिनी र कर्णालीमा सम्पन्न गाउँ–नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चश्व देखिएको छ ।

मंगलबारसम्म लुम्बिनी प्रदेशका १०९ मध्ये ९ जिल्लाका ७७ स्थानीय तहमा अधिवेशन सम्पन्न हुँदा सभापति शेरबहादुर देउवा पक्षका भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा दोब्बर बढी संख्यामा निर्वाचित भएका छन् । प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु, गुल्मी र बाँकेका ३२ पालिकामा अधिवेशन हुन बाँकी छ ।
लुम्बिनीको ७७ पालिकाको अधिवेशनमा पौडेल पक्षबाट ४७ जना सभापति निर्वाचित भएको सो समूहका नेताहरुको दावी छ । संस्थापन समूहबाट १९ जना सभापति निर्वाचित भएका छन् भने शशांक कोइराला समूहका नवलपरासी पश्चिममा २ जना निर्वाचित भएका छन् । रुपन्देहीका २, प्युठान र अर्घाखाँचीका एक–एक जना सभापति कुनै समूहमा पनि खुलेका छैनन् ।

त्यस्तै कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्य हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ ।

कर्णालीमा निर्वाचन सम्पन्न भएका ६२ पालिकामध्ये ३४ पालिकामा पौडेल पक्षका सभापति चुनिए भने २७ पालिकामा देउवा पक्षका सभापति आएका छन् । जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा भने कतै पनि खुलेका छैनन् ।