पार्टीभित्र गुट थप्ने प्रधानमन्त्री नै हुन्ः नेता खनाल

  • प्रकाशित मिति : March 17, 2021
  • sthaniyasarkar.com

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुट थपिदिएको आरोप लागएका छन् ।

बुधबार भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले दुई तिहाईको सरकारमा प्रधानमन्त्री ओलीले आफ्ना गुटका मान्छेलाई राखेर क्याबिनेट विस्तार गरेको बताए ।

‘उहाँले बहुमतको सरकारले पार्टीका नीति, मनपरीतन्त्र र अहंकारले ग्रस्त भएर पार्टीलाई व्यवस्था गरेर आफ्नो पक्षमा काम गर्न थाल्नुभयो । उहाँले आफ्ना गुटका मान्छेलाई राखेर मात्र क्याबिनेट विस्तार गर्नुभयो’, उनले भने ।

नेता खनालले निर्वाचनमा गरेका प्रतिबद्धता केपी अ‍ोली नेतृत्वको सरकारले लागू गर्न नसकेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले पार्टीलाई केन्द्रीय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्न नसकेको आरोप लगाए ।

‘पार्टीलाई सरसल्लाह बिना एक लौटी ढंगले बजेट विनियोजन गर्नुभयो । निर्वाचनमा गरेका प्रतिबद्धता केपी अ‍ोली सरकारले लागू गर्न सकेन । उहाँले पार्टीलाई केन्द्रीय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्न सक्नुभएन । प्रधानमन्त्री भ्रष्टाचारी र भ्रष्टाचारीलाई संरक्षण गर्न थाल्नुभयो’, नेता खनालले भने ।

उनले प्रधानमन्त्री अ‍ोलीले योग्य मानिसहरुलाई नियुक्त नगरी आफ्ना धुपौरे र आसेपासेहरुलाई नियुक्त गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।नेता खनालले प्रधानमन्त्री ओलीले गुटबन्दी सुरु गरेकाले पार्टी एकतालाई बचाउन नसकेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले पार्टीलाई विघटन र फुटको संघारमा लगेको बताएका छन् ।

‘पार्टीलाई बचाउन सकिएन । केपी अ‍ोलीले गुटबन्दी सुरुवात गरेको हो । मदन भण्डारी फाउण्डेसन गठन गरेर पार्टीमा अराजकता बढ्दै गयो । पार्टीमा वैचारिक र शैद्धान्तिक विग्रह भयो’, उनले भने ।