काठमाडौं : नेकपा एमाले संस्थापन समूहका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले असार २७ गतेको १० बुँदे सहमति कार्यान्वयन भएर पार्टी जोगिने बताएका छन् ।
शुक्रबार एमालेले विघटन गरेको एमाले एकताका लागि गठित कार्यदलका सदस्यहरुबीच शनिबार सिंहदरबारमा भएको छलफलपछि उनले १० बुँदे सहमति कार्यान्वयन भएर पार्टी जोगिने बताएका हुन् ।
‘हामी सबैको चिन्ता भनेको कम्युनिष्ट आन्दोलन जोगाउने हो । एमाले एकतालाई जोगाउने हो। यो छलफललाई हामी निरन्तर अघि बढाउँछौँ,’ नेम्वाङले भने, ‘भर्खरै पार्टीमा १० बुँदे सहमति भएको छ । त्यो सहमति पत्र हामीले पार्टी अध्यक्षलाई बुझाएका छौँ । शीर्ष नेता माधवकुमार नेपाललाई पनि बुझाएका छौँ । त्यही १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढेर पार्टीलाई एकतावद्ध बनाउन छलफल गरेका हौँ ।’
एमाले एकता जोगिने विश्वाससहित विघटित कार्यदलका सदस्यबीच अनौपचारिक संवाद भएको उनले बताए। ‘त्यही विश्वासका साथ हामी छलफलमा बसेका छौँ । छलफलको मुद्दा १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भन्ने नै हो,’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन हुन्छ एमाले एकता झन् मजबुत भएर अघि बढ्छ ।’