एमाले प्रवेश गरेका वडाध्यक्षमाथि नेकपा माओवादी केन्द्रले सोधे २४ घन्टे स्पष्टीकरण

  • प्रकाशित मिति : April 11, 2021
  • sthaniyasarkar.com

 काठमाडाैँः एमाले प्रवेश गरेका वडाध्यक्षमाथि नेकपा माओवादी केन्द्र ओखलढुंगाले २४ घन्टे स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका चम्पादेवी गाउँपालिका वडा नम्बर ७ का वडअध्यक्ष सुरेशकुमार थापालाई स्पष्टीकरण सोधेको हो ।

 

एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले विघटन गरेपछि माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । जिल्ला कमिटी बैठकले निर्णय गरेर २४ घन्टे स्पष्टीकरण सोधेको जिल्ला अध्यक्ष मोहनकुमार खड्काले जानकारी दिए ।

 

पार्टी छाडेर नेकपा एमालेको भेला, बैठकमा सहभागी भएको पाइएपछि स्पष्टीकरण सोधेर कारबाही अघि बढाइएको माओवादी केन्द्रले जनाएको छ । पार्टीमा फिर्ता नभए सदस्यबाटै हटाएर पदमुक्त भएको जानकारी निर्वाचन आयोगलाई गराइने खड्काको भनाइ छ ।

 

त्यस्तै, एमाले प्रवेश गरेका पूर्वसांसद बालकृष्ण ढुंगेलसहितका माओवादी केन्द्रका नेताहरूलाई साधारण सदस्यबाट समेत हटाउन प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको बताइएको छ ।