प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिको पार्टी रोज्ने अन्तिम दिन आज

  • प्रकाशित मिति : September 7, 2021
  • sthaniyasarkar.com

काठमाडौ : सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार दल फुटाएर नया दल दर्ता गरेकाले एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको दिएको समयसिमा आज सकिदैछ।

गत भदौ २ गतेबाट लागु हुने गरी दिएको उक्त समय सीमा आज भदौ २२ मा सकिदैछ । प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ ।

गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । दुवै दलको निवेदनअनुसार ९ भदौमा आयोगले दलको मान्यता दिँदै प्रमाणपत्र दिएको थियो । आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद कायम रहनेछ ।

हालसम्म एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने ३० सङ्घीय सांसदसहित ५१ प्रदेश सांसद खुलिसकेका छन् भने स्थानीय तहका जनप्रतिनिधि कति भए भन्ने बेलुका ५ बजेपछि मात्रै थाहा हुने सो पार्टीका नेता गङ्गालाल तुलाधरले जानकारी दिएका छन ।