काङ्ग्रेस महाधिवेशन : क्षेत्रीय प्रतिनिधिले उठ्न पाउने पदहरु

  • प्रकाशित मिति : September 5, 2021
  • sthaniyasarkar.com

काठमाडौ : विभिन्न अन्योलताका बिच नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि अहिले धमाधम वडा अधिवेशन चरिरहेको छ।भदौ १८ गतेदेखि देशका विभिन्न जिल्लाभित्रका वडामा कांग्रेसका अधिवेशन भइरहेकोमा अहिलेसम्म करिब ६० जिल्लाका विभिन्न वडामा अधिवेशन सकिएका छन्।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडाअधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडाअधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।

वडा अधिवेशनबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्। ती क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापति भदौ २७ मा हुने गाउँपालिका र नगरपालिका अधिवेशनका मतदाता हुन्। वडामा खुला र समावेशी जुन समूहबाट छानिएको भए पनि कांग्रेसका प्रतिनिधिले माथिल्लो तहमा जुनसुकै उम्मेदवार हुन पाउँछन्।

कांग्रेसको निर्वाचन निर्देशिकाको विविधअन्तर्गत (ड) बुँदामा लेखिएको छ, ‘समावेशी वा खुला समूहमध्ये जुनसुकै समूहबाट छानिएका प्रतिनिधिहरूले माथिल्लो तहका निर्वाचनमा समावेशी वा खुला जुनसुकै समूहको उम्मेदवार हुन पाउँछन्।’भदौ २७ अगाडि ७७ जिल्लाका छ हजार सात सय ४३ वडामै अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ किनभने भदौ २७ मा गाउँ/नगर अधिवेशन हुँदैछ।