काठमाडौँ । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।
कांग्रेस प्रवक्ता देवराज घिमिरेद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा बैठकले मध्यपूर्वमा देखिएको सङ्कटका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको उल्लेख गरेको छ ।
पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा भान्सा खर्चदेखि व्यवसाय, रोजगारी, कृषि उत्पादन र पर्यटन क्षेत्रसम्म व्यापक प्रभाव परेको कांग्रेसको ठहर छ ।
कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै स्वतः बढेको मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिई फिर्ता गर्ने व्यवस्था गर्न माग गरेको छ । यसले महँगीको मार केही हदसम्म कम गर्न सक्ने विश्वास व्यक्त गरिएको छ । साथै, पूर्वाधार विकास कर हालको सन्दर्भमा औचित्यहीन भइसकेकाले हटाउनुपर्ने कांग्रेसको धारणा छ।
त्यसैगरी भन्सार, सडक मर्मत तथा सुधार दस्तुर, प्रदूषण नियन्त्रण शुल्क र हरित करलगायतका विभिन्न करहरू निश्चित अवधिका लागि घटाउने वा हटाउने व्यवस्था गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ। हालको कर संरचनाका कारण नेपाल आयल निगमले महँगोमा खरिद गरी सस्तोमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै यसलाई समाधान गर्न स्पष्ट कर सहुलियत नीति आवश्यक रहेको उल्लेख गरिएको छ।
कांग्रेसले समग्र कर प्रणाली पुनरावलोकन गरी पेट्रोलियम पदार्थमा लाग्ने कर घटाउनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई बढ्दो यातायात खर्चबाट राहत दिन विशेष सहुलियत कार्यक्रम ल्याउन पनि सरकारलाई आग्रह गरेको छ ।