हिमाली जिल्लाहरूमा निर्वाचन सम्पन्न गर्न चुनौती

  • प्रकाशित मिति : February 4, 2026
  • sthaniyasarkar.com

मुस्ताङ। आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न हिमाली जिल्लाहरूमा चुनौती थपिएको छ। यी क्षेत्रहरूमा विगतका समयहरूलाई हेर्दा भारी हिमपात हुने भएकाले जनजीवन कष्टकर बन्ने गर्छ त्यसैले मतदान सम्भावना न्यून हुने देखिएको हो ।

मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, ताप्लेजुङ, सोलुखुम्बु लगायतका दुई दर्जन बढी हिमाली जिल्लाका केही मतदान स्थलमा मतदान प्रक्रियामा चुनौती थपिने भएको स्थानीय जनप्रतिनिधिहरूको सुझाव छ ।



जस्तै मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदान स्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ ।

मुस्ताङमा निर्वाचनका लागि यहाँ सबै मतदान केन्द्र तथा मतदान स्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पुर्याउन सक्ने आकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्व तयारी पनि थालिएको छ । यो एउटा उदाहरण मात्र हो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडकमा यातायात सेवा अवरुद्ध छ । मुस्ताङमा फागुन÷चैत महिनामा हिमपात भएको विगतका अनुभवहरु छन् । हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सृजना हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताए ।

निर्वाचन कार्यतालिका अनुसार मतदान गर्ने दिनको केही दिन अगाडि साङ्ता मतदान केन्द्रमा जाने सडकको हिउँ डोजर परिचालन गरी पन्छ्याएर सडक सहज बनाउने योजनामा रहेको प्रजिअ शर्माको भनाइ छ । यसपालि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका–२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाँभिएको छ ।

यसैगरी लोघेकर दामोदरकुण्ड–ताङ्ग्याका मतदाताहरु सहजताका लागि थप अर्को एक मतदान स्थल थपिएको छ । हाल थासाङ गाउँपालिकामा–८ वटा, घरपझोङ गाउँपालिकामा–६ वटा, लोघेकर दामोदरकुण्डमा–१० वटा, वारागुङ मुक्तिक्षेत्रमा–९ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदान स्थल कायम गरिएको छ ।

मुस्ताङका प्रजिअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडकको पहुँच, विद्युत्, टेलिफोन र इन्टरेनटको सुविधा छ । मुस्ताङमा एक लाख १३ हजार २८ जना मतदाता छन् । जसमध्ये पुरुष पाँच हजार ५५९ जना, महिला पाँच हजार ७६८ र अन्य एक जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए।

मुस्ताङको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०८, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२, बारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनौट गरी निर्वाचन प्रहरीका लागि अनुशिक्षण तालिम आइतबारदेखि सञ्चालन भइसकेको छ ।

निर्वाचनका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।