एमसिसी फागुन ४ गते टेबल हुने

  • प्रकाशित मिति : February 13, 2022
  • sthaniyasarkar.com

काठमाडौ : अमेरिकी सहयोग सम्झौता एमसिसी प्रतिनिधिसभाबाट पारित गर्नलाई सत्ता गठबन्धन सहमति नजिक पुगेको छ। शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी टुंगो लगाउने सहमति भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार केही सञ्चार माध्यमसँग कुराकानी गर्दै आगामी बैठकबाट एमसिसी टुंगो लाग्ने बताएका छन्। उनले सहमति भए सहमतिबाट र त्यस्तो हुन नसके संख्याका आधारमा एमसिसी छिनोफानो हुने स्पष्ट पारेका छन्।

माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले लामो समयदेखि एमसिसी संसदमा टेबल गर्न मानेका थिएनन्। पछिल्लो सहमतिअनुसार उनीहरू संसदमा एमसिसी टेबल गर्न राजी भएका छन्। सम्भवत: फागुन ४ गते बस्ने संसद बैठकमा सभामुख अग्नी सापकोटाले छलफलका लागि एमसिसी टेबल गर्ने छन्।

प्रतिनिधिसभामा नेपाली कांग्रेससँग ६१ सांसद छन्। सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि एमसिसीकै पक्षमा छन्। जसपाका २० र लोसपाका १२ सांसद छन्। एमाले सांसदहरूले कि एमसिसीको पक्षमा मत हाल्छन् कि बैठक बहिष्कार गर्छन् भन्ने सत्ता गठबन्धनको ठम्याइ छ। दुवै अवस्थामा एमसिसी संसदमा बहुमतबाट पारित हुन्छ।

शनिबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै लोसपा अध्यक्ष महन्त ठाकुरले एमसिसी विशुद्ध विकास परियोजना भएकाले यसको विरोध गर्नुको तुक नभएको बताएका थिए।