काठमाडौ : जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँट गर्ने भएको छ । सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकिएपछि लघुवित्तको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने भएको छ ।
लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो । लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।
यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।