सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका– ५ मा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । शनिबार आफ्नै घरको छतबाट लडेर ५१ वर्षीय महिलाको ज्यान गएको हो ।
छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा ५१ वर्षीय गीता थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । घाइते महिलाको त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि वीरगञ्जकै न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।