काठमाडौं : कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई मंगलबारदेखि दोस्रो डोज लगाउन सुरु भएको छ। खोप लगाउनका लागि तोकिएका अस्पतालहरूमा अत्यधिक भिड बढेको छ। खोपका लागि उपत्यकामा १९ केन्द्र तोकिएको छ।
पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन तथा १४ जिल्लाका शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ। तर, खोप केन्द्रमा यसरी अत्यधि भिड बढेको बारेमा सरकार बेखबर छ।
कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए।
कोरोनाविरुद्धको कोभिसिल्ड खोप ४ लाख ३८ हजार ८७९ जनाले लगाएका थिए।खोप केन्द्र तोकिएका १४ केन्द्रमै अत्यधिक भिड छ। भिड बढेका कारण कोरोना रोकथामका लागि खोप लगाउन जाँदा उल्टै कोभिड सर्ने त्रास बढेको अल्का अस्पतालमा खोप लगाउन लाइनमा बसेकाहरूले गुनासो सुनाए।