रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको सुचना………..

  • प्रकाशित मिति : April 9, 2021
  • sthaniyasarkar.com

काठमाडौं । रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको बुधबारको सूचना खारेज भएको छ । यसरी व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।

बुधबार स्वास्थ्य मन्त्रालयले जारी गरेको १० बुँदे सूचनाको ७ नम्बर बुँदामा भनिएको थियो, ‘रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ ।’

सीसीएमसी वा क्याबिनेटले निर्णय गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयले यस्तो सूचना जारी गरेपछि पर्यटन क्षेत्रमा बुधबारदेखि नै हल्लीखल्ली मच्चिएपछि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृहमन्त्रालयका सचिव, सह–सचिवसहित उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठक बस्यो ।

यो आकस्मिक बैठकले स्वास्थ्य मन्त्रालयको सो सूचना बाध्यकारी नभएको ठहर गरेको छ । स्वास्थ्य मन्त्रालयको सूचना बाध्याबारी नहुने गृह प्रशासनको निणर्चयसँगै अब रात्रिकालीन व्यवसायमा लगाइएको प्रतिवन्ध फुकुवा भएको छ ।

बिहीबारको बैठकले समस्या समाधान गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी बताउँछन् । रेग्मीले भने, ‘हामीले स्वास्थ्य मन्त्रालयको निर्णय मान्ने कि क्याबिनेटको ? मान्ने त क्याविनेटकै होला नि । त्यसैले क्याबिनेटले निर्णय नगरेसम्म स्वास्थ्य मन्त्रालयले जे सूचना निकाले पनि हामी मान्न बाध्य छैनौं ।’

क्याबिनेटले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई हेरेर सम्बन्धित मन्त्रालय र सरोकारवाला पक्षलाई निर्णय गर्न दिने भनेको रेग्मी बताउँछन् ।

‘स्वास्थ्य मन्त्रालय आफैंले समय सीमा तोकेर सूचना निकालिदियो । यसले अहिलेको समस्या आएको हो,’ रेग्मी भन्छन्, ‘बिहीबार हामीले पर्यटन मन्त्रालयसहित गृह मन्त्रालय र उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुसँग बसेर घनिभूत छलफल गरेका छौं । बैठकले निर्वाध व्यवसाय गर्न पाउने गरी निर्णय गरेको छ ।’

नयाँ वर्षको मुखमा व्यवसाय बन्द गराउने स्वास्थ्य मन्त्रालयको सूचनाले पर्यटन व्यवसायीहरु असन्तुष्ट बनेका थिए । लामो समयपछि बल्लतल्ल खुल्न लागेको व्यवसायलाई पुनः बन्द नै गर्ने मन्त्रालयले उर्दी जारी गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि पोखेका ।

-रातोपाटी