काठमाडौंः विश्वभर काेराेना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन् । बालबालिकामा समेत सङ्क्रमण देखिएपछि काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयमा कतिपय अभिभावकले आफ्नो बालबालिका पठाउन छाडेका छन । पछिल्लो एक सातामा मात्रै करिब ३०० बालबालिका सङ्क्रमित भइसकेका छन् त्यसैले पढाइभन्दा ज्यान ठूलो ठानेर आफ्ना छोराछोरीलाई पठाउन छाडेका छन् ।
बालबालिका चरित्रका दृष्टिकोणले चञ्चले, उत्सुक, जिज्ञासु, नक्कल गर्ने, जिद्दी तथा अनुसन्धानकर्ता हुने हुँदा र समूहमा बस्दा कोभिड–१९ को जोखिम अत्यधिक हुने भएकाले जोखिम भएका स्थानमा बालबालिकालाई सुरक्षित राख्नु चुनौतीपूर्ण देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दका विषयमा सरोकार भएका पक्षसँग परामर्श गरी सुझाव तयार गरेको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिकाइ निरन्तरताबारे सरोकारवाला पक्षबाट प्राप्त सुझाव र मन्त्रालयको राय समेटेर कोभिड–१९ केन्द्रीय निर्देशन तथा व्यवस्थापन समिति ९सिसिएमसी० र मन्त्रिपरिषद्मा सुझाव पठाइएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, समारोह, विद्यालय, भीडभाड हुने व्यावसाय र रात्रिकालीन होटलजस्ता स्थान सञ्चालन नगर्न पटकपटक आग्रह गरेको छ ।गत वर्ष बन्दाबन्दीका अवधिमा पाठ्यवस्तुमा समायोजन गरी अनलाइन, टेलिभिजन, रेडियोजस्ता सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सिकाइ निरन्तरता दिइएको थियो । मुलुकका सबै भागमा सूचना तथा सञ्चार प्रविधिको पहुँचको अभाव र सबै शिक्षक सूचना प्रविधिमा पोख्त नभएकाले वैकल्पिक माध्यमको सिकाइ प्रभावकारी नभएको विभिन्न अध्ययनले देखाएको थियो । सरकारले तोकिएको कार्यविधिका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय पुनः सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको थियो । शिक्षा विकास तथा मानव संशाधन केन्द्रले विद्यार्थीका लागि स्वअध्ययन सामग्री प्रकाशन गरेको थियो भने कतिपय विद्यालयका शिक्षकले घरघर र टोलटोलमा पुगेर पनि पढाउन पहल गरेका थिए ।
यस्ता प्रयासलाई पुनः थालनी गर्न सकिने भए पनि प्रत्यक्षरूपमा पढाइएको सरहको सिकाइ उपलब्धि नहुने ठानिएको छ । शिक्षा मन्त्रालयले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन गत जेठ १८ मा जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७’ मा पनि परिमार्जनको आवश्यकता देखिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी भने गत वर्षको बन्दाबन्दीका अवधिमा आफ्ना ५० प्रतिशत विद्यालयमा अनलाइन शिक्षाको पहुँच नभएकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको बताउन्छन् । नेपाल अभिभावक सङ्घका अध्यक्ष यादव शर्माले अनलाइन कक्षावापत शुल्क लिइएकामा आपत्ति जनाए । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल मुलुकका ६० प्रतिशत जनतामा इन्टरनेटको पहुँच छ । हाल मुलुकभर कूल ३५ हजार ६०१ विद्यालयमा गरी ७१ लाख विद्यार्थी छन् । एक तथ्याङ्कअनुसार मुलुकभर इन्टरनेटमा ७५ प्रतिशत, रेडियोमा ८५ प्रतिशत, टेलिभिजनको पहुँच ७२ प्रतिशत जनसङ्ख्यामा र मोबाइल प्रयोगकर्ता चार करोड मानिसमा रहेको पाइएको छ ।