काठमाडौं: काठमाडौं उपत्यकामा विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुलाइ २ दिनकाे समय दिदा घर फर्किने यात्रुहरुको भिड बढेको छ । गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बढेको देख्न सकिन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।
अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको र सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएकाे यात्रुले गुनासो गरेका छन् ।
नयाँ बसपार्कमा हाल सञ्चालन भएका टिकट काउन्टरसमेत बन्द गरिएको छ । टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि वैशाख १ देखि नयाँ बसपार्कभित्रका सम्पूर्ण काउन्टर बन्द गरिएको अध्यक्ष कुँवरको भनाइ छ ।