अलपत्र अवस्थामा रहेकाे जोरपाटी–सुन्दरीजल सडकको कालोपत्रे गर्न काम सुरू

  • प्रकाशित मिति : April 21, 2021
  • sthaniyasarkar.com

काठमाडौं : वषाैँ देखि अलपत्र अवस्थामा रहेकाे जोरपाटी–सुन्दरीजल सडकको कालोपत्रे गर्न काम मंगलबार बेलुकीदेखि शुरू भएकाे गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिए।

उनले कालाेपत्रेको काम निरन्तर गर्दै जाने बताए। ‘हिजोबाट कालाेपत्रे शुरू भएको छ, छिट्टै काम सक्ने योजनामा छौं,’ उनले भने। उनका अनुसार अहिले नाम्गेल,भैरवचौर​ लगायत क्षेत्रमा कालाेपत्रे भैरहेकाे छ।

जोरपाटी–सुन्दरीजल सडकको ७ किलोमिटर निर्माणका लागि करिब ५४ करोड रुपैयाँ लागतमा आशिष सिएमजेभीसँग २०७३ सालमै सम्झौता भएको थियो। सम्झौताअनुसार २०७५ साल असोज महिनामा सो निर्माण कम्पनीले काम गरिसक्नुपर्ने थियो।

तर, ठेक्काको म्यादको समय सकिँदा पनि मुआब्जा विवादका कारण अहिलेसम्म सडक कालोपत्रे हुन नसक्दा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्‌। चैत १४ गते स्थानीयले भैरव चौरमा कालोपत्रे माग गर्दै सडक समेत अवरुद्ध गरेका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गोकर्णेश्वर नगरपालिकाबीच सम्झौता भएपछि गत मंसिर २० गतेबाट सडक रेखांकनको काम शुरू भएको थियो।

सोहि सम्झौताअनुसार सार्वजनिक जग्गा भएकोमा २२ मिटर चौडा गर्ने र व्यक्तिगत जग्गा भएको ठाउँमा भने १४ मिटर चौडा गरेर सडक कालोपत्रे गर्ने निर्णय भएको छ।