फुङ्लिङको नवौँ नगरसभा समापन: ८९ वटा योजनाको कार्यक्रम तथा बजेट संशोधन

  • प्रकाशित मिति : March 20, 2021
  • sthaniyasarkar.com

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको नवौँ नगरसभाले विभिन्न ८९ वटा योजनाको कार्यक्रम तथा बजेट संशोधन गरेको छ । नगरसभाले ३ वटा नयाँ ऐनसमेत पारित गरेको छ भने शिक्षा ऐन, २०७५ का केही बुँदालाई संशोधन गरेको छ ।

उपप्रमुख बमबहादुर भट्टराईद्वारा प्रस्तुत संशोधित बजेट कार्यक्रमलाई नगरसभाले पारित गरेको हो । अब नगरपालिकाको कुल संशोधित स्रोत अनुमान ६६ करोड ८६ लाख ९० हजार १ सय ५० रुपैँया पुगेको छ ।

यसअघि चालू आर्थिक बर्षका लागि नगरउपप्रमुख भट्टराईले ६३ करोड ५६ लाख ५३ हजार १ रसय ५० रुपैयाँको स्रोत अनुमान प्रस्तुत गरेका थिए । उतिबेला प्रस्तुत बजेट तथा कार्यक्रमभन्दा नगरपालिकामा ३ करोड ३० लाख ३० हजार रुपैयाँ स्रोत वृद्धि भएको छ ।

नगरपालिकाको आठौँ नगरसभाद्वारा स्वीकृत ६ सय ११ वटा विकास योजनामध्ये ३० फागुनसम्म २ सय ६२ वटाको उपभोक्ता समिति र ठेक्कासहित योजनाको सम्झौता भएकामा तीमध्ये १ सय ४४ वटा योजना फरफारकको अवस्थामा रहेको नगरसभामा जानकारी दिइयो ।

पुँजीगततर्फ हालसम्मको भौतिक प्रगति ३४.२१ प्रतिशत र वित्तीय प्रगति ४३.७८ प्रतिशत रहेकोसमेत नगर उपप्रमुख भट्टराईले जानकारी दिए । आन्तरिक आय संकलनमा नगरपालिकाले उल्लेख्य सफलता पाएको छ ।कुल १ करोड ५० लाख आन्तरिक आय उठाउने लक्ष्य राखेको नगरपालिकाले अहिलेसम्म १ करोड ८ लाख ८२ हजार ९ सय २ रुपैयाँ उठाएको जनाएको छ । यो लक्ष्यका हिसाबले ७२.५५ प्रतिशत हो ।

३ वटा नयाँ ऐन पारित 

नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको ऐन २०७७, सहकारी ऐन, २०७७ र कर तथा गैरकर राजस्वलाई लगाउने तथा उठाउनेसम्बन्धी ऐन, २०७७ पारित गरेको छ । यस्तै, नगरपालिकाको शिक्षा (प्रथम संशोधन) ऐन, २०७७ लाई समेत पारित गरेको छ ।

३ वटा नयाँ र संशोधन पेस भएका ऐन विधायन समितिका संयोजक तथा फुङ्लिङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भीमादेवी ओझाले प्रस्तुत गरेकी थिइन् । उनका अनुसार अहिलेसम्म नगरपालिकाले ३५ वटा ऐन, नियम, कार्यविधि र मापदण्ड बनाइसकेको छ ।