धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो ।
गाउँपालिका अध्यक्ष यमनाथ दनै, उपाध्यक्ष धर्मबहादुर अर्याल, विभिन्न वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय कर्मचारी तथा सर्वसाधारणको उपस्थितिमा धार्मिक विधिअनुसार पूजा–आजासहित शिलान्यास गरिएको हो ।
आफ्नै प्रशासनिक भवन नहुँदा हालसम्म गाउँपालिकाले भाडामा कार्यालय सञ्चालन गर्दै आएको थियो । वार्षिक ३५ लाखभन्दा बढी रकम भाडामै खर्चिँदै आएको र महत्वपूर्ण कागजातहरूको सुरक्षा पनि चुनौतीपूर्ण हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भवन निर्माणपछि यी समस्याहरू अन्त्य हुनेछन्।
गाउँपालिकाको कार्यपालिका केन्द्र साधभञ्ज्याङमा स्थानीय २२ जनाले १६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि भवन निर्माण प्रक्रिया अघि बढाइएको हो। निर्माण अवधि २ वर्ष तोकिएको भए पनि भवन एक वर्षभित्र नै निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने लक्ष्य लिइएको अध्यक्ष दनैले बताउनुभयो ।
भवन अपाङ्गमैत्री र अत्याधुनिक सुविधासम्पन्न हुने गरी निर्माण गरिनेछ। ज्वालामुखी गाउँपालिकाका सबै शाखाहरू सोही भवनमा रहने व्यवस्था गरिनेछ ।
“आफ्नै भवन नभएका कारण दैनिक सेवा प्रवाहमा कठिनाइ हुने गरेको थियो,“ उपाध्यक्ष अर्यालले भन्नुभयो, “अब सेवाग्राहीहरूलाई शाखा–शाखा फाईल बोकेर हिंड्नुपर्ने अवस्था अन्त्य हुनेछ ।“
भवन निर्माणका लागि गाउँपालिकाले १२ करोड ३५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । हाल ७ करोड ९९ लाख ५६ हजार रुपियाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।