काठमाडौ : गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका घोषित भएको छ ।
स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्व मूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
संस्थागत क्षमताको स्वमूल्याङकनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो र शहिद लखन गाउँपालिका तेस्रो गाउँपालिका बनेको छ । अजिरकोटले ६५.५ प्रतिशत र शहिद लखनले ६०.२५ अङ्क ल्याएका छन् ।
कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । त्यस्तै कार्यविधिको मापदण्डअनुसार संस्थागत क्षमताको स्वमूल्याङकनमा भीमसेन थापा गाउँपालिका सबैभन्दा पछाडि परेको छ । सो गाउँपालिकाले ३३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।