काठमाडौ : लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखसंग माग गरेका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वलीले आइतबार मात्र आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका हुन् । तर पोखरेलले आफूसंग ४१ सांसदको बहुमत रहेको दावी गर्दै एकल वहुमतको सरकारको मुख्यमन्त्रीमा नियुक्ति र सपथको तयारी गरेका थिए ।
मुख्यमन्त्रीको यस्तो तयारीपछि दाङ ३ (ख) बाट निर्वाचित वलीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी थिइन् । वलीको निर्णयसंगै हाल ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत गुमेको छ । प्रदेशसभामा एमालेको सांसद संख्या ४० मात्र पुग्छ ।
एमालेको बहुमत गुमेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेर पुनः मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न आग्रह गरेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।