बन्दीपुर गाउँपालिकामा असहाय ३ घरलाइ घर हस्तान्तण

  • प्रकाशित मिति : April 11, 2021
  • sthaniyasarkar.com

काठमाडाैँ :  तनहूँ जिल्लाकाे बन्दीपुर गाउँपालिकाको सहकार्य तथा कर्मफ्लाइट्सको भूकम्परहित घरबास निर्माण परियोजनाको आर्थिक सहयोगमा बन्दीपुर–२ का तीन घरपरिवारलाई र घर हस्तान्तण गरिएको छ ।

गरिब तथा असहाय परिवारलाई घर निर्माण गरी परियोजनाको तर्फबाट प्रेमबहादुर कुँवर, कृष्ण पाण्डे र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरूपमा घरको चाबी हस्तान्तरण गरेका हुन् ।स्थानीय मनमाया भुजेल, मंगल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।

भुजेलको ऐलानी र विकद्वयको जग्गाधनी प्रमाणपत्र भएको जग्गा व्यवस्था गरी परियोजनाको सहयोगमा घर निर्माण गरिएको उनले बताए ।सोही वडास्थित बगैँचाभित्र बसोबास गर्दै आएका विकका दुई घरपरिवारलाई बगैँचाबाट बाहिर बस्नका लागि विसं २०७२ मा ब्लकमा परेको जग्गाको पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।

बगैँचाको संरक्षण गर्नुपर्छ भनेर बगैँचाभित्र रहेका घरलाई बाहिर बस्नका लागि पुर्जा दिलाएको स्थानमा घर निर्माण गरिएको हो । उनले भने, ‘उक्त पुर्जा भएको स्थानमा विकका दुई घर र भुजेलको ऐलानी जग्गामा घर निर्माण गरिएको हो ।’

विगत लामो समयदेखि भुजेल परिवार सोही स्थानमा बस्दै आएकाले सोही स्थानलाई कायम गरी घर निर्माण गरिदिएको गाउँपालिकाले जनाएको छ ।

दशैँअघि घर निर्माण थालिए पनि काम गर्ने जनशक्ति अभावमा ढिलाइ हुन गएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । तीनवटै घरपरिवारलाई करिब चार आनाका दरले जग्गा उपलब्ध गराइएको उनले बताए ।

पक्की घर पाएपछि असहाय गरिब परिवार मक्ख छन् । उनले भने, ‘हावाहुरी आउँदा र पानी पर्दाको समयमा सुरक्षित भएर बस्न पाउने भएपछि खुशी भएका छन् ।’