शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले मात्र शैक्षिक उपलब्धि हासिल गर्न सकिने कुरामा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सामुदायीक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरिय बनाउनका लागि लगनशील शिक्षक, मिहीनती विद्यार्थी र सहयोगी अभिभावकहरुको साथ रहेकोमा वक्ताहरुले जोड दिएका हुन् ।
सल्यानकाे कपुरकोट गाउँपालिकाको शिक्षा, युवा खेलकुद शाखाले वडा नम्बर १ को लामपोखरा स्थित जनचेतना प्राथमिक विद्यालयमा आयोजना गरेको अभिभावक शिक्षा कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।कार्यक्रममा कपुरकाेट गाउँपालिका अध्यक्ष तथा राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई असल व्यवहार सिकाउनुपर्ने बताए ।
उनले भने, ‘आमावाबु वा अभिभावकले वालवालिकाको खाने, लगाउने र चाहिने कापि कितावको व्यवस्था गरिदिएर मात्रै हुँदैन, छोराछोरीलाई घरमा पढ्न लेख्नका लागि उचित वातावरण मिलाइदिनुपर्छ । अनी उनीहरुको दुःख सुखको साथी पनि बनिदिनु पर्दछ ।’ जीवनको पहिलो पाठशाला घरमा असल वानी, व्यवहार, अनुशासनको जग सिर्जना गरिदिनुपर्नेमा अध्यक्ष सेनको जोड थियो ।
कार्यक्रममा कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्का, गाउँपालिकाका श्रोत व्यक्ति कृष्ण बहादुर भण्डारी, वडा सदस्य बम बहादुर कवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर सुनार, प्रधानाध्यापक अमर विक लगाएतले अभिभावकले छोराछोरीहरुलाई सानैदेखि आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई माया गर्न, सहयोगी भावनाको विकास गर्न, आफ्नो काम आफै गर्न, स्वाबलम्बी बन्न सिकाउनुपर्ने र उनीहरुको पढाइको बारे समयसमयमा विद्यालयमा आएर जानकारि लिनुपर्ने बताएका थिए ।
अभिभावक शिक्षा कार्यक्रममा सहजकर्ता तथा नेरामावि किमुचौरका प्रधानाध्यापक सिट्टीसाप विष्ट र कार्यक्रमको सञ्चालन सिद्ध आवि खालीका प्रधानाध्यापक पदम खड्काले गरेका थिए ।
सामुदायीक विद्यालयमा शिक्षाको स्तर बढाउनका लागि भन्दै गाउँपालिकाले विगत देखी नै अभिभावक शिक्षा, आमा सचेतना कार्यक्रम र किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसका साथै विद्यालयको भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा पनि कपुरकोट गाउँपालिकाले वर्षेनी लगानी गर्दै आइरहेको जनाएको छ ।