काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा नदेखिएको बताएका छन्।
अविश्वासको प्रस्ताव आउने भए प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै आइसक्ने उनको भनाइ रहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत नदेखिएको टिप्पणी गरे।
‘यो सरकारविरुद्घ अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन, अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत देखिएको पनि छैन। ल्याउने भए पुनःस्थापना भएसँगै ल्याउँथ्यो, अब त्यो सम्भावना छैन,’ ओलीले भने।
वामदेव गौतम समेत उपस्थित रहेको संसदीय दलको बैठकमा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूह एमाले विभाजनमा लागेको आरोप लगाए। कार्यकर्ता भेलाको नाममा पार्टीहित विपरीत काम गर्नेहरूले माफी माग्नुपर्ने ओलीले बताए।
उनले पार्टीभित्र गुटगत काम गर्नेलाई कारवाही हुने बताएका छन्। छुट्टै भेला गरिरहेका अगुवाकर्ताहरूलाई कारबाही गरेर जानुको विकल्प नरहेको ओलीले बताए । ‘त्यसका लागि विधि र पद्धति बनाउने आधार तयार गर्दैछौँ,’ उनले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौँ। पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । उहाँहरूका गतिविधि कारबाहीका भागिदार हुनुहुन्छ।’