काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सात पटक प्रधानमन्त्री बन्ने योग रहेको भन्दै चर्चामा रहेका ज्योतिष हुन् सुरेशचन्द्र रिजाल ।
२०७४ सालमा सम्पन्न निर्वाचनको समयमा देउवाले आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको सुनाएका थिए ।
तर निर्वाचनको परिणामले भने उनको दल तेस्रो स्थानमा खुम्चियो र देउवा प्रधानमन्त्री बन्ने अवसर सरकार पाँच वर्षकालागि समाप्त भयो ।
यसअघि ४ पटक प्रधानमन्त्री बनिसकेका देउवालाई ज्योतिषले ७ पटक भनेको भन्दै रिजाललाई कतिपयले ‘हावादारी’ ज्योतिष भनेका थिए ।
तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भन्दै भाषण गरेपछि देउवाले त्यसको काउन्टरमा आफूलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्छस् भनेको भन्दै जवाफ दिएका थिए । त्यतिबेला उक्त विषयमा समाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको थियो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले चुनावी गठवन्धन र एकता गरेसँगै गठन भएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) झण्डै दुई तिहाइको मतसहित सरकार सञ्चालन गरिरहेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले सरकार र पुष्पकमल दाहाल प्रचण्डले पार्टी चलाउने सहमति नेकपामा भएको भएपनि पार्टीमा गम्भीर विवाद देखियो ।
प्रधानमन्त्रीसमेत रहेका ओली पार्टी र संसदीय दलमा अल्पमतमा परे भने ९ सदस्यीय सचिवालयमा पनि ओलीको पक्षमा तीन जनामात्र रहे ।
अल्पमतमा परेपछि ओलीले संसद विघटन गर्दै वैशाखमा निर्वाचन घोषणा गरे । उनको यस्तो घोषणासँगै दुई तिहाइ नजिक रहेको नेकपामा औपचारिक विभाजन देखा प¥यो ।
प्रचण्ड र माधव नेपाल लगायतका नेताहरु प्रधानमन्त्री ओलीको विपक्षमा आन्दोलनमा उत्रिए ।
विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो । रिटको संवैधानिक इजलाशमा बहस भयो र सर्वोच्चले प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक भन्दै पनुःस्थापना गर्दै संसद बोलाउनु पर्ने गरि फैसला ग¥यो ।
देउवाको भाग्य
कम्तिमा पाँच वर्ष प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा रहेका देउवा यसबिचमा सरकारको नेतृत्व गर्ने अवसर पाउने स्थानमा आइपुगेका छन् ।
नेकपा वैधानिकरुपमा फुट्न बाँकी रहेपनि स्पष्ट रुपमा दुई समूह क्रियाशिल रहेका छन् र दुबैले फरक फरक राजनीतिक गतिविधि गरिरहेका छन् ।
यस्तो अवस्थामा अबको प्रधानमन्त्री को हो भन्ने प्रश्न उव्जिएको छ र नेकपाको दुवै पक्षले एक्लै प्रधानमन्त्री बन्नसक्ने अवस्था लगभग अन्त्य भएको छ ।
यस्तोमा ओली तथा प्रचण्ड माधव समूह दुवैले देउवालाई विभिन्न प्रस्ताव राखेका छन् ।
प्रचण्डले त देउवालाई प्रधानमन्त्री बनाएर अघि बढ्न सकिने सार्वजनिक रुपमा नै भनिसके ।
देउवाले पनि संसद विघटन विरुद्ध आन्दोलनमा नउत्रिएर सत्ता प्रतिको आशक्ति देखाएका छन् । उनको दल नेपाली कांग्रेसले साथ नदिएसम्म ओली वा प्रचण्ड माधव पक्षले सरकार बनाउन नसक्ने भएपछि उनी प्रधानमन्त्री बन्ने प्रवल सम्भावना रहेको विश्लेषकहरु बताउँछन् । अरुलाई प्रधानमन्त्री बनाउँन देउवा ईच्छुक हुने कुरा नभएको उनी निकट नेताहरु बताउँछन् । त्यसको अर्थ उनी आफैं प्रधानमन्त्री बन्ने हकमा सरकारका जाने नभए मध्यावधी चुनावपछि जित हात पारेर प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् ।
ज्योतिषसँग छलफल
यसैबीच मंगलबार(आज) देउवाले उनै सातपटक प्रधानमन्त्री बन्ने योग रेहेको बताउने ज्योतिष रिजालसँग भेटघाट गरेका छन् ।
वास्तुविद्समेत रहेका ज्योतिष सुरेशचन्द्र रिजालले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर भेट गरेका छन् ।
ज्योतिष रिजाल भन्छन्,‘पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल गरि उचित सल्लाह सुझाव दिने काम भयो ।’
<span;>उनले सामाजिक सञ्जालमा राखेको तस्वीरमा देउवा प्रफुल्ल मुद्रामा देखिएका छन् ।
ज्योतिष रिजालले देउवा चैतसम्ममा प्रधानमन्त्री बन्ने दाबी गरेका समाचारहरु यसअघि नै सार्वजनिक भइसकेका छन् । ज्योतिष रिजाल भन्छन्, ’ग्रहदशा बलियो छ देउवाको। हामीले ग्रह, राशी र नक्षत्रबाट क्यालकुलेसन गर्ने हो। यसले स्पष्ट देखाउँछ। चैतसम्ममा देउवा प्रधानमन्त्री बन्नुहुने योग छ ।’
यतिबेला देउवाको ग्रह बलियो भएर आएको उनको दावी छ । उनका अनुसार देउवाको कुम्भ राशीका हुन् । यो राशि ज्यादै बलवान भएर आएको उनले सुनाए। ओली मकर राशीका हुन् । जुन राशी अहिले कमजोर हुँदै आएको उनको दावी छ । यतिमात्र होइन, देउवालाई आरजु राणाको राशीको समेत साथ रहेको रिजालको भनाइ छ । पत्नीको ग्रहले पनि पतिलाई प्रभाव पर्ने उनको भनाइ छ ।
देउवाको प्रधानमन्त्री हुने योग कात्तिकबाट शुरु भएर चैतको नवरात्रीसम्म रहेको उनको दाबी छ ।
कातिक १ बाट शुरु भयो योग । चैतको नवरात्रीभित्र देशले नयाँ प्रधानमन्त्री पाउने देखिन्छ,’ उनले भने ।