विराटनगर । असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा सडक, पूर्वाधार, खानेपानी तथा सिँचाइ आयोजनामा २ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रदेश सरकारले जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार भौतिक पूर्वाधार अन्तर्गत मात्रै १ अर्ब ९८ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने खानेपानी तथा सिँचाइका आयोजनामा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

सडक तथा पुल क्षतिका हिसाबले सबैभन्दा बढी इलाम प्रभावित भएको छ। इलाममा मात्र पुलमा ३८ करोड ५० लाख र सडक बगाउँदा १९ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। झापामा १ करोड ५० लाख, पाँचथरमा सडकमा ३२ करोड र पुलमा १० करोड, ओखलढुंगामा ११ करोड २५ लाख, सोलुखुम्बुमा ८ करोड ५० लाख, मोरङमा ५ करोड २० लाख, धनकुटामा २ करोड ५ लाख, ताप्लेजुङमा ४ करोड ७५ लाख, सङ्खुवासभामा २ करोड ६५ लाख, तेह्रथुममा २ करोड ४० लाख, खोटाङमा ४५ लाख र उदयपुरमा १५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

हालसम्म ७३ वटा सडकमध्ये ४४ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने २९ वटा आंशिक रूपमा क्षतिग्रस्त छन्। यस्तै २३ वटा सडकपुलमध्ये १२ वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ११ वटामा आंशिक क्षति पुगेको छ। २९ वटा झोलुङ्गे पुलमध्ये २० वटा पूर्ण रूपमा र ९ वटा आंशिक रूपमा क्षति पुगेको तथ्याङ्क छ। त्यसैगरी, ३ वटा भवनमा पनि आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयका सचिव प्रदीप वान्तवाले दिएको जानकारी अनुसार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलाम अन्तर्गत ३ करोड ७६ लाख, कन्काई सिँचाइ व्यवस्थापन कार्यालय झापामा १ करोड ४५ लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरमा २ करोड ८१ लाख १० हजार बराबरको भौतिक क्षति भएको छ। मन्त्रालयका अनुसार हालसम्म ९९ वटा खानेपानी र सिँचाइ आयोजना प्रभावित भएका छन्।

यसैबीच, कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ। बैठकले राहत, पुनर्निर्माण तथा अत्यावश्यक सेवा सञ्चालनलाई प्रभावकारी बनाउन आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी सम्मिलित ३ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदलले छिट्टै कार्ययोजना बनाएर काम थाल्ने जनाइएको छ।

बैठकले तत्काल खर्च गर्न सक्ने गरी जिल्लास्तरमा रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ। प्रारम्भिक राहत स्वरूप इलामका लागि २५ लाख, झापाका लागि १० लाख र पाँचथर, मोरङ तथा सुनसरी जिल्लाका लागि प्रतिजिल्ला ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ। उक्त रकम सानातिना मर्मत, अस्थायी बसोबास व्यवस्थापन तथा अन्य आकस्मिक कार्यहरूमा प्रयोग गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *