काठमाडौं । संवैधानिक व्यवस्था अनुसार आज मंगलबार (असार १० गतेभित्र)सम्म देशका सबै पालिकाले आगामी आर्थिक वर्षको बजेट पेस गरिसक्नुपर्छ । देशका धेरै स्थानीय तहले हिजो अस्ति नै बजेट पेस गरिसके भने कति स्थानीय तहले आज मंगलबार धमाधम बजेट प्रस्तुत गरिरहेका छन् ।
देशका प्रमुख स्थानीय तहमध्येका भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, बुटवल उपमहानगरपालिका लगायतले यसअघि नै बजेट प्रस्तुत गरिसक्दा देशको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको बजेट भने अन्योलमा परेको छ ।
महानगरभित्र देखिएको आन्तरिक विवादले गत पुस यता कार्यपालिका बैठक समेत बस्न सकेको छैन । केही दिन पहिले मेयर बालेन्द्र (बालेन) शाह, उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षबीच भेटवार्ता भएपनि बैठकको वातावरण बन्न सकेन । जसको असर सबैभन्दा ठूलो बजेट ल्याउने महानगरमा परेको छ ।
यसैगरी, अर्को चर्चित पालिका सुनसरीको धरान उपमहानगरपालिकामा पनि बजेट आउन सकेको छैन । मेयर-उपमेयरबीचको विवादका कारण बजेट अन्योलमा परेको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौंलागाईंका अनुसार बजेटको कुनै तयारी अघि बढेको छैन । उनका अनुसार बजेट कहिले आउँछ भन्ने पनि टुंगो समेत छैन ।