सिन्धुपाल्चोक। मंगलबार राति परेको वर्षाका कारण जिल्लाको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत लिपिङ बजार क्षेत्रमा क्षति भएको छ । पहाडबाट खसेको ढुंगाले स्थानीय तीन घरमा क्षति पु¥याएको इलाका प्रहरी कोदारीले स्थनीय सरकारलाई जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्थानीय सुनिता श्रेष्ठको एक तले जस्ताले बनेको घर पूर्ण रूपमा भत्किएको छ भने पदम श्रेष्ठ र फूलमाया तामाङको घरको सटरमा क्षति पुगेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी टोली खटिएको छ ।
तिब्बतबाट सिन्धुपाल्चोक जिल्लामा सतर्कताका अपनाउन अनुरोध
बुधबार छिमेकी चीनको स्वशासित तिब्बत क्षेत्रमा सात दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई सतर्क रहन सन्देश पठाएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार जाङ्मु पोर्टस्थित अध्यागमन कार्यालयमार्फत नेपालतर्फका सुरक्षा निकायहरू—सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक रूपमा सूचित गरिएको छ ।
चिनियाँ चेतावनीपछि भोटेकोशी नदी आसपासका सबै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको जानकारी दिए । न्यालम क्षेत्रमा वर्षा सुरु भइसकेको सूचना आएको र भोटेकोशीको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका बस्तीहरूलाई सूचित गरेको उनले बताए ।’
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पनि बुधबार सार्वजनिक सूचना जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सचेत गराएका छन् । उनले भने, ’हाल भोटेकोशीसहित सुनकोशी क्षेत्रमा समेत भारी वर्षाको सम्भावना रहेको बताइएको छ । अहिले भोटेकोशी नदीमा बाढी बढ्दो छ तर अवस्था खतराको चरणमा पुगेको छैन । यद्यपि तातोपानी, बाह्रबिसे, लामोसाँघु र बलेफी क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह छ ।’