तुलसीपुर।तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गरेका हुन्।
नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले बालबालिकाहरुलाई नियमितरूपमा खोप दिएर देशका लागि स्वस्थ्य जनशक्ति तयार हुने बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चिताका लागि महिला स्वयम सेविका र स्वास्थकर्मीहरूको महत्वपूर्ण योगदान रहेको बताए।
तुलसीपुर उपमहानगरपालिकाले ६ वर्षदेखि लगातार पूर्ण खोप सुनिश्चितताको घोषणा गर्दै आएको छ । स्वास्थ्यकर्मी, महिला स्वयम सेविका, जिल्ला खोप समन्वय समितिका प्रतिनिधि टोलीले पालिकाका सबै वडाहरूमा पुगेर बालबालिकाले खोप लगाए वा नलगाएको खोजी गरेको थियो । जसमा खोप नलगाएका बालबालिका एउटा पनि नभेटिएको र आंशिक खोप मात्र लगाएका ७ जना बालबालिका भेटिएपछि पुन : छुटेका खोप लगाइएको पालिकाका जनस्वास्थ्य प्रवर्धनका शाखाका फोकलपर्सन विमल केसीले जानकारी दिए । सात जनालाई खोप दिएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाभित्र नौ हजार ८ सय जना बालबलिकाहरुले खोप लगाएका थिए । पालिकाभित्र ६५ वटा खोप केन्द्र रहेका छन् । खोप केन्द्रमा प्रत्येक महिना खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

घोषणा कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले स्वास्थ्यसँग जोडिएको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उनले स्वस्थ जनशक्ति तयार भएमात्रै सम्मुन्नन नगर हुने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका किशोरकुमार शर्माले १३ वटा प्राण घातका रोगबाट बचाउनका लागि बालबालिकाहरूलाई खोप अनिवार्य रहेको बताए । उनले १५ महिना मुनिका सबै बालबालिकाहरूलाई खोप केन्द्रमा पुगेर अभिभावकहरूले सम्पूर्ण खोप दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *