गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ माछीखोला आसपासका एक सय ४० वटा घरमा एक घर एक धारा खानेपानी निर्माण सम्पन्न भएको छ। कुनै बेला खानेपानीका लागि एक घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै करिब २० वर्षपछि घर घरमा खाने पानी धारा पुगेपछि स्थानीय खुशी भएका छन् ।
माछाखोला र आसपासका एक सय ४० वटा घरमा धारा निर्माणले स्थानीय बासिन्दालाई अहिले खानेपनी अभाव टरेको छ।
गुम्दाको हाच्याङ खोलामा मुल बनाएर स्थानीयवासीहरुलाई पानी खुवाएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए।
सङ्घीय सरकारको विशेष अनुदानमार्फत २०७९ साल फागुन ५ गते दिपज्योति ए वान जेभी गोरखाले दुई करोड २८ लाख ९३ लाख ६६४ रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ साल फागुन ५ गते सम्पन्न गर्नुपर्ने भएता पनि निर्माण कम्पनीले झण्डै एक वर्ष ढिला गरी काम सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।
उक्त रकमबाट १४० घरमा धारा, इनट्याङक, एक लाख रिर्जभको ट्याङ्की र विरण लाईन निर्माण लगायतका काम भएको स्थानीयले बताएका छन् । अहिले खानेपानी धारा निर्माणले सरसफाई, पशुचौपायालाई खुवाउनेदेखि तरकारीमा समेत पानी पुगेको बताइएको छ ।