स्याङ्जा। गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी पहिलो भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरुका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गरेको हो ।
मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्याङ्कनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण एवं विकास सहजीकरणलगायतका विषयलाई आधार मानेर जिल्ला प्रशासनका विभिन्न सूचकहरुमा मूल्याङ्कन हुने गर्छ ।
यसभन्दा अगाडीका मुल्याङ्कनमा स्याङ्जा २७ औं र दोस्रो स्थानमा परेको थियो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको तालिका अनुसार कूल १८ दशमलव ५ पूर्णाङ्क मध्ये स्याङ्जाले १८ दशमलव १२५ अंक प्राप्त गरेको छ । आर्थिक बर्ष २०८१-०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबिच भएको कार्यसम्पादन सम्झौता अनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा पहिलो स्थान हासिल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बताए । चौथो त्रैमासिकमा पनि स्याङ्जाले यो साख बचाउने विश्वास सहायक प्रजिअ पौडेलको छ ।