सत्तापक्षीय दलको बैठक बालुवाटार सुरु, सरकारको आलोचक गगन थापा आज पनि गएनन्

  • प्रकाशित मिति : April 30, 2025
  • sthaniyasarkar.com

काठमाडौँ।सत्तापक्षीय दलको बैठक बालुवाटारमा बसिरहेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो।
सरकारले यही वैशाख १९ गते संसद्‍मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्।
सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन्।
तर आजको बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपा, सिके राउत नेतृत्वको जनमत र रन्जिता श्रेष्ठ नेतृत्वकोनागरिक उन्मुक्ति पार्टीका कुनै पनि नेता सहभागी छैनन्।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।
तर बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा अनुपस्थित भएका छन्।

केही दिनअघि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि अनुपस्थित रहेका थापा सत्तापक्षीय दलको आजको बैठकमा पनि अनुपस्थित भएका हुन्।
थापाले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भनेर आलोचना गर्दै आएका छन्।