विराटनगर । विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका रामचरित्र मेहतालाई हाजिर हुन नदिने तयारी गरिएको छ ।
मेहताको सरुवालाई लिएर मेयरलगायतका जनप्रतिनिधि रुष्ट बनेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा मेहताको नाम परेको थियो । मेयर नागेश कोइरालाले सल्लाह नगरी मन्त्रालयले मनखुसी प्रमुख प्रशासकीय पठाएकाले मेहतालाई स्वीकार गर्न नसकिने बताएका छन् ।
मेहता यसअघि सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा विवादमा तानिएको कोइरालाको भनाइ छ । पटक–पटक विवादमा परेको भन्दै मेयर, उपमेयरसहितका जनप्रतिनिधिले उनलाई विराटनगर हाजिर हुन नदिने तयारी गरेका हुन् । मेहताले आफूसँग सहमतिसमेत नलिइ सरुवा मागेको र कार्यशैली ठीक नदेखिएकोले स्वीकार्न नसकिने कोइरालाले बताए । मन्त्रालयले समेत प्रमुख प्रशासकीय अधिकृत पठाउँदा एकपटक पनि समन्वयन नगरेको उनको गुनासो छ ।
मेहता युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत थिए । मेहताले आफूलाई हाजिर हुन नदिने कुरा सुनेर आश्चर्य लागेको बताए । ‘किन उहाँहरुले त्यस्तो कुरा गर्नु भयो ? मैले बुझन् सकेको छैन,’ उनी भन्छन्, ‘सरुवा मसँग जोडिएको विषय हैन । संघीय सरकारले गरेको हो ।’
संघीय सरकारले दरबन्दी मिलान गरेकाले महानगरमा हाजिर हुन नदिने भन्ने कुरा नहुने मेहताको भनाइ छ । ‘म विराटनगरकै मान्छे हुँ । आफ्नै माटो र यहीँका लागि केही गर्नुपर्छ भन्ने लागेको छ । म विराटनगर हाजिर हुँदा कसैलाई केही अप्ठेरो हुन्छ होलाजस्तो लाग्दैन,’ उनले भने ।
आफ्नो सरुवालाई विवादित बनाउन खोजिएको गुनासो उनको छ । सरकारले नियम कानुन अनुसार सरुवा गरेकाले केही दिनमा रमाना बुझेर आफू विराटनगर हाजिर हुने मेहताले बताए ।