काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग विद्युतको तार फिर्ता माग्नुभएको छ । नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ०५८ सालमा लगेको तार फिर्ता गर्न भन्नुभएको हो ।
एमाले अध्यक्षसमेत रहनुभएका ओलीले ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका बेला सञ्चार माध्यममाथि प्रतिवन्ध लगाइएको स्मरण गर्दै सोध्नुभयो, ‘अहिले प्रेसवालाहरु के भन्छन् कुन्नी, म बुझ्दिनँ । तर, त्यतिबेला समाचार भन्दा पनि पछाडि आर्मी उभिएका हैनन् ? साँचो लगाउन गाको हैन प्रेसमा ?’
‘टेलिफोनको लाइन काटेर भएन, तार काटेका थिए, तार । फेरि कस्तो बुद्धि होला क्या, लाइन काटे त सिद्धियो नि, तार काटेर कहाँ बोकेर गाको ? त्यो तार अझैसम्म फिर्ता गर्या छैन ज्ञानेन्द्र शाहले’, ओलीले आक्रोश पोख्नुभयो ।
लोकतन्त्रको उदारतालाई कमजोरी नठान्न उहाँले पूर्व राजालाई चेतावनीसमेत दिनुभएको छ । ‘जनताले बनाएको संविधान नमान्ने, लोकतन्त्र र प्रणाली नमान्ने, जनताको सार्वभौमसत्ता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने, अनि जनताको चाहनाअनुसार रे’, भन्नुभयो, ‘पैसा तिरेका चार वटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, अनि देश धेरै बिग्रियो, हामी सपार्न आउछौ, मलाई साथ देउ, म अगाडि बढ्छु, आह्वान रे ।’