काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संघीयता धरापमा पारेकाले संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले बुधबार चितवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको आरोप लगाए ।
समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सीमित रहेको दाबी गर्दै उनले भने, ‘देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था छ, यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’ ओलीले नैतिक रुपले प्रधानमन्त्री हुने वैधानिकता गुमाएको भन्दै उनले तत्काल पद त्याग्न सुझाए ।
संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निर्माणमा अग्रसर भएको उनले बताए । यस्तो परिस्थितिमा कांग्रेस आन्तरिक रुपमा मजबुत हुनुपर्नेमा उनले जोड दिए ।