काठमाडौं : नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि पार्टीबाट हटाएर कारबाही गरेको छ। माओवादीले बादलले पार्टी त्यागेको जानकारी संसद् सचिवालयलाई दिएको हो।
संसद् सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार बादललाई कारबाही गरिएको पत्र शुक्रबार दिउँसो दर्ता भएको हो। यो कारबाहीसँगै अब बस्ने राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ।
यसअघि, माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो। उनीहरूलाई पार्टीले गरेको पत्र सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराएसँगै उनीहरूको सांसद र मन्त्री पनि गुमेको छ।