पुर्बका उदाउदा ५ पोखरी (फोटो फिचर)

  • प्रकाशित मिति : November 20, 2020
  • sthaniyasarkar.com

तिम्बुपोखरी

पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ। यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ।हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ। तिम्बुपोखरी सँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन्। चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरी आकर्षक छ।

समुद्र सतहदेखि चार हजार ४८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्व पनि बोकेको छ। यसलाई विष्णुपोखरीसमेत भनिन्छ। यहाँ पूजा गर्न जानेहरु प्रशस्तै भेटिन्छन्। यहाँबाट तिम्बुपोखरीसँगै हिमाली र उच्च पहाडी क्षेत्रका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ।

ढापपोखरी

छोटो समयमा धेरै चर्चा कमाएको ढापपोखरी आन्तरिक पर्यटकहरूका लागि रोजाइमा परिरहेको छ । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका-५ जमुनास्थित ढापपोखरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि पर्यटकको आकर्षण बढेको हो ।
५० रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण ढापपोखरीमा आगन्तुकको ध्यान बढ्दै गएको हो ।

सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरी रमाइलो गर्न र घुम्न उपयुक्त गन्तव्य हो । पोखरी विस्तार गरेपछि यहाँ ७ हजार माछासमेत हालिएको छ । ढुंगा सञ्चालनमा ल्याइएको छ । पोखरीको दक्षिणी क्षेत्रमा माटोको डाँडा बनाइएको छ । जसलाई सेल्फीडाँडा उपनाम दिइएको छ । यो पोखरीलाई धार्मिक आस्थाको केन्द्रका रूपमा पनि मानिँदै आएको छ ।

गुफापोखरी

प्राकृतिक विविधताले भरिपुर्ण तीनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा पर्दछ । टिएमजे क्षेत्रको पदमार्ग भएर वर्षेनि हजारौँ पर्यटकहरु ओहोर दोहोर गर्छन् । यो क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीहरुको अवलोकन, वसन्त ऋतुमा राताम्मे गुराँसे बन, डाँडा काँडा र पाखाको दृश्यावलोकनका लागि पर्यटकहरु आउँछन् ।

टिएमजेको सबैभन्दा ठुलो र महत्वपुर्ण पोखरी गुफा पोखरी नै हो । तीन हजार मिटर उचाईमा रहेको सो क्षेत्रमा पहिले प्रशस्त हिउँ पर्ने भएकाले पोखरीमा बाह्रै महिना टिलपिल हुन्छ । पोखरी नजिकै मेन्छ्यायेम डाँडा छ । डाँडाको पछाडिपट्टि ऐतिहाँसिक गुफा छ । सोही गुफाको आधारमा पोखरीको नामपनि गुफापोखरी राखिएको स्थानीय बताउँछन् ।प्राकृतिक पोखरी, आकर्षक डाँडाकाँडा, यसकारण पनि टिएमजे आफै पर्यटकीय स्थल हो ।

जोरपोखरी

धार्मिक पर्यटकीय महत्व बोकेको जोरपोखरी पांचथरको भारपा र सुभाङ गाविसको मिलनबिन्दु हो । एउटै स्थानमा एकसाथ सिद्ध र देवी पोखरीको उत्पत्ति भएकाले यसलाई जोरपोखरीको नामले चिनिने गरेको स्थानीय बताउँछन्। पोखरी आसपासमा सिद्धेश्वरी मन्दिर, फाल्गुनन्द माङ्हिम (मन्दिर) लगायतका मन्दिरहरू रहेका छन् । हिन्दू धर्मावलम्बी र किरात धर्मावलम्बीको आस्थाको संगम जोरपोखरी भएकाले पनि यसको थप महत्व छ ।

बेला–बेला जोरपाखरीमा पूजा, पुराणसमेत लाग्ने गरेको छ । जोरपोखरीमा पूजा गरेर मात्र अन्य देवस्थलमा गए राम्रो हुने जनविश्वासले गर्दा यो पोखरीको थप महत्व बढेको हो । पाँचथर सदरमुकाम फिदिम बजारबाट ३० किलोमिटर दुरीमा रहेको जोरपोखरीमा आन्तरिक तथा बाह्य पर्यटक सहजै पुग्ने गरेका छन्। मेची राजमार्गको दायाँ–बायाँ धार्मिक केन्द्र निर्माण गरिएकाले यहाँ भक्तजन सहजै पुग्ने गरेका हुन्।

चिल्लागढ पोखरी

चिल्लागढ पोखरी झापा शिवसताक्षी नगरपािलका माईधार चौक देखी ३ किलोमिटर दक्षिण कनकाईमाई नदि पस्चिममा रहेको छ । द्वापर युगमा भगवान रामको १४ बर्षे बनबास समय समाप्त भएपछी यस क्षेत्रमा ऋषिमुनीहरुलाई बोलाएर विशाल हवन यज्ञ गरिएको स्थान हो भन्ने गरिन्छ । पछि क्रमस पानि भरिएर पोखरीको रुप लिएपछी विराट राजाको गाई वस्तु चरनको क्रममा आउदा पानी खुवाउने पोखरी नै चिल्लागढ पोखरी हो भन्ने भनाई पनि रहेको छ। चिल्लागढ पोखरी धार्मिक तथा पर्यटकिय दृष्टीले पूर्वमा परिचित छ ।

विगतका बर्षमा झापा र देशमै पौराणिक धर्मिक स्थलले चर्चा पाएको चिल्लागढलाई स्थानिय सरकाले उचित व्यवस्थापन गर्न सक्ने हो भने सर्वसाधारणहरु नयाँ बनावटी पर्यटन स्थलमा भन्दा ऐतिहासिक धार्मिक पर्यटन स्थलमा जान लालाहित हुनेमा दुई मत छैन ।