आन्तरिक पर्यटकको रोजाइ बनेको घान्द्रुक कस्तो छ त ? (फोटो फिचर)

  • प्रकाशित मिति : November 20, 2020
  • sthaniyasarkar.com

पर्यटक भनेकै विदेशी पाहुना ठान्ने अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसायीलाई भने दिगो पर्यटनको प्रमुख आधार नै आन्तरिक पर्यटक हुन।

घान्द्रुकको पर्यटनको महत्वपूर्ण विशेषता हो – समुदायमा आधारित पर्यटन । यहाँका पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको सम्बन्धले नै यहाँको पर्यटन व्यवसायले फड्को मारेको छ।

छ हजार ७ सय फिट उचाइमा रहेको घान्द्रुक पुग्न कास्कीको नयाँपुल पुगेर गाडीबाट ओर्लिएपछि करिव पाँच घन्टा पैदल हिँड्नुपर्छ । यो मार्गबाट हिँडेर घान्द्रुक पुग्न धेरै पर्यटकहरु लालायित हुने गरेका छन् । अझ यो चैत- बैशाख महिनामा घान्द्रुक पुग्ने पर्यटकले वनपाखामा फुल्ने राताम्मे गुराँसको मोहकता पनि देख्न पाउँछन् ।

यहाँका सबै होटलको सेवा सुविधामा एकै किसिमको दर तय गरिएको छ । घान्द्रुकमा पुग्ने कोही पनि पर्यटकले आफ्नै रोजाइमा सेवा र सुविधा प्राप्त गर्न सक्दछ ।

अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । विदा र फुर्सदको समयमा देशभित्रकै पर्यटकीय स्थलहरु घुमेर प्राकृतिक सौन्दर्यमा रमाउने नेपालीहरुको चाहनाले आन्तरिक पर्यटन फस्टाउन पुगेको हो ।

घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर जाने घोरेपानी पुनहिल क्षेत्रमा पश्चिम नेपालकै ठूलो गुराँसको जङ्गल रहेको छ । यो मार्गमा झण्डै १५ घण्टा गुराँस जङ्गलको बाटो हिँड्न पाएर पर्यटकहरु दङ्ग पर्ने गर्छन्।

चम्किला किरण छर्दै सूर्योदय हुँदा घान्द्रुकबाट सुन टल्किएकै भान हुने हिमशृङ्खलाको अद्भूत लहर दृश्यावलोकन गर्न सकिन्छ । आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने २० भन्दा बढी हिमचुचुरालाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु यस क्षेत्रको आकर्षण हो ।

हेर्नुस् तस्बिरहरु