गुर्जोको सेवन, मात्रामा ध्यान दिन विज्ञको सुझाव

  • प्रकाशित मिति : November 20, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति-बिराटनगर-कोरोना महामारी आउनुअघि गुर्जोका बारेमा कमैलाई मात्र थाहा थियो। आयुर्वेदका जानकार र यसको नियमित प्रयोगकर्ताबाहेक कमैले मात्र यसको महत्व बुझेका थिए। नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि रोग प्रतिरोधात्मक क्षमता बढाउन यसको प्रयोग ह्वात्तै बढेर गएको हो। अहिले गुर्जोको लोकप्रियता बढेको छ। जंगल, खेतबारीको घारीमा फैलिएर बसेको गुर्जोको खोजी बढ्यो। स्थानीय तहका प्रतिनिधिहरुले जंगलमा गएर खोजेर ल्याउन थाले।

गुर्जो नपाइने ठाउँमा मगाउन थालियो। कोरोना संक्रमण हुनासाथ संक्रमितहरु गुर्जो खोज्न थाले। कोरोनाबाट बच्नका लागि पनि यसको नियमित प्रयोग बढ्न थाल्यो। कोरोना संक्रमण भएका अधिकांश व्यक्तिले यसको प्रयोग गरेको पाइन्छ। अहिले संक्रमितले अन्य आयुर्वेद औषधिको तुलनामा गुर्जोको प्रयोग बढी गर्ने गरेका छन्।

गुर्जोलाई रसायन औषधिका रुपमा लिइन्छ। आयुर्वेदमा यसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका रुपमा उल्लेख गरिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रविन्द्र निरौलाले बताए। गुर्जोलाई चूर्ण, काँचो डाँठलाई काडा बनाएर र सत्वका रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ। गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले जुनसुकै संक्रमणबाट जोगिन सहज हुने डा. निरौलाको तर्क छ।