काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएकै मितिमा अर्थात् फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
आइतबार आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ मा आयोजित स्थानीय नेताहरू तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रको आधार नै निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए।
“संविधान जोगाउने र मुलुकलाई संक्रमणबाट बाहिर निकाल्ने एउटै बाटो निर्वाचन हो,” डा. कोइरालाले भने, “हामी त निर्वाचनको मिति कुर्दै बसेका छौँ, तर सरकारको तयारी हेर्दा चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका पैदा भएको छ।”
उनले सरकारले निर्वाचनको अनुकूल वातावरण बनाउन नसकेको आरोप समेत लगाए।
“दलका केही नेताहरूलाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै फिर्ता भएका छैनन्, कैदीहरू बाहिर छन्,” उनले प्रश्न गर्दै भने, “यस्ता गम्भीर विषयमा सरकारले के सोचिरहेको छ ?”
डा. कोइरालाले पार्टी पंक्तिलाई निर्वाचन केन्द्रित भएर तयारीमा जुट्न निर्देशन दिँदै कांग्रेस कुनै पनि हालतमा लोकतान्त्रिक प्रक्रिया कमजोर हुन नदिने बताए।