सिन्धुपाल्चोक । जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा सुनकोशी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै ७९.४ अंक प्राप्त गरी जिल्लामा दोस्रो स्थान हासिल गरेको छ।

स्वास्थ्य सेवा मूल्याङ्कनका आधारमा गरिएको यो परिणामले गाउँपालिकाको सेवा प्रवाह प्रणाली, प्रभावकारी कार्यान्वयन र जनस्वास्थ्यप्रतिको प्रतिबद्धतालाई उजागर गरेको जनाइएको छ।

सुनकोशी गाउँपालिकाको यो उपलब्धिलाई उल्लेखनीय सफलता मानिएको छ। गाउँपालिकाका अध्यक्ष टेपेन्द्र तिमल्सिना, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, जनस्वास्थ्य कार्यालय परिवार, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सरोकारवालाहरूले संयुक्त प्रयासबाट यो उपलब्धि सम्भव भएको बताएका छन्।

गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले भने, “यो उपलब्धि जनताको स्वास्थ्यप्रतिको सामूहिक प्रतिबद्धता र निरन्तर परिश्रमको परिणाम हो। आगामी दिनमा अझ सबल, सक्षम र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा गाउँपालिका प्रतिबद्ध रहनेछ,” भन्ने प्रतिक्रिया दिएका छन्।

जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले पनि सुनकोशी गाउँपालिकाले देखाएको सुधार र समर्पणले अन्य स्थानीय तहका लागि उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार, नियमित सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य सुधार, खोप कार्यक्रम, सरसफाइ अभियान र जनचेतनामूलक कार्यक्रमहरू गाउँपालिकाको उच्च मूल्याङ्कनका प्रमुख आधार बनेका छन्।

सुनकोशी गाउँपालिकाको यो सफलताले जिल्लाभरका स्वास्थ्य सेवा प्रणालीमा गुणस्तर र पहुँच दुवै सुधार गर्न सकारात्मक प्रेरणा प्रदान गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *