जनकपुरधाम। मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर तोडफोड सुरु भएको छ ।
असन्तुष्ट पक्षले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका छन् ।
आज बिहानै कांग्रेस सहितका सांसदहरू मुख्यमन्त्रीको कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गर्नुका सथै नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।
यता, प्रदेश प्रमुखको कार्यकक्षमा पनि आक्रोशित व्यक्तिहरूले तोडफोड गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरू समेत तोडफोड गरिएको छ । उनीहरू प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी जारी राखेका छन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।
यस्तै, विपक्षी दलका नेता–कार्यकर्ताहरुले मधेस भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेस भवन आउने सूचना पाएपछि विरोधमा रहेका दलका नेता–कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयासमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
अस्वस्थ भएर उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले यादबलाई बर्दिबासको एक होटेलमा शपथ गराएकी थिइन् ।