काठमाडौँ : मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नयाँ नेतृत्वका लागि बुधबार दिउँसो ४ बजेसम्म प्रदेश प्रमुख भण्डारीले समय सीमा तोकेकी थिइन् । आजै कांग्रेस–एमालेबाहेकको ६ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यता नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका छन् । उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै बदरको माग गरेर प्रदर्शन गरेका हुन् ।

सोनलको नियुक्ति खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत जनमतका १३ सांसदको हस्ताक्षरसहित ५८ सांसद आफूसँग रहेको दाबीसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरेका थिए ।

निर्वाचन कार्यालयमा जनमतका केही सांसदले जनस्वराज पार्टीमा समेत सनाखत गरिसकेको अवस्थामा प्रदेश प्रमुखले हतारमा मुख्यमन्त्री नियुक्त गरेको कांग्रेसको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *