काठमाडौँ, असोज २६ । देशभर डेङ्गु सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट हालसम्म चार जनाको मृत्यु भएको छ भने ७५ जिल्लाका पाँच हजार ८७४ जनामा डेङ्गु पुष्टि भएको छ।

महाशाखाअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म डोल्पा र मनाङ जिल्लामा मात्र डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन। सबैभन्दा बढी सङ्क्रमण गण्डकी प्रदेशमा देखिएको छ, जहाँ एक हजार ५०२ जनामा डेङ्गु पुष्टि भएको छ।

त्यसपछि बागमतीमा १,३८०, कोशीमा ८०३, लुम्बिनीमा ९९१, सुदूरपश्चिममा ६८४, कर्णालीमा ३९०मधेश प्रदेशमा १२४ जनामा डेङ्गु सङ्क्रमण पाइएको इडिसिडीले जनाएको छ।

डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्छ। एडिज लामखुट्टे सफा पानी जम्मा हुने जुनसुकै भाँडो, बाल्टिन, फूलदानी वा टायरमा पनि हुर्कन सक्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेङ्गुका प्रमुख लक्षणहरूमा असाध्य शरीर दुख्ने, खान मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो, टाउको र आँखाको गेडी दुख्ने, राता दाने आउनु, वाकवाकी वा वान्ता हुने लगायतका लक्षण देखिन्छन्।

डा. पुनले डेङ्गु पुष्टि भएको अवस्थामा चिकित्सकको सल्लाह बिना औषधि सेवन नगर्न आग्रह गर्नुभएको छ। उहाँले ज्वरो आएमा, खोकी लागेमा वा सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाव दिनुभएको छ।

चिकित्सकका अनुसार डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहन सक्ने भएकाले सबै नागरिकलाई सचेत रहन, घर वरिपरि पानी जम्न नदिन र लामखुट्टे नियन्त्रणका उपाय अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *