महोत्तरी । लगातारको वर्षापछि आएको बाढीका कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा दर्जनभन्दा बढी सरकारी कार्यालय डुबानमा परेका छन् । विद्युत् सबस्टेशनमा पानी पसेपछि तीन दिनदेखि क्षेत्र अन्धकारमा छ ।

बाढीका कारण प्रादेशिक अस्पताल, विद्युत प्राधिकरण, नेपाल टेलिकम, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतलगायत कार्यालय प्रभावित छन् । जलेश्वरलाई जोड्ने प्रमुख सडकहरु समेत अवरुद्ध छन् ।

रतवारामा तटबन्ध कटान भएपछि बाढी सिधै जलेश्वर प्रवेश गरेको हो । महादेव मन्दिर क्षेत्र, अस्पताल चोक, बसपार्कलगायतका बस्ती डुबानमा परेका छन् ।

रातो, जंग्हा, विग्ही, गेरुकी लगायत दर्जनौँ नदीमा जलस्तर बढ्दा विभिन्न ठाउँमा तटबन्ध कटान भएको छ । मटिहानीका लचकामा दुई फिटभन्दा बढी पानी बगिरहेकाले पैदल यात्रीलाई आवतजावतमा समस्या भएको जनाइएको छ ।

पानी घट्न थालेकोले सडक चाँडै सञ्चालनमा आउने स्थानीय सरकारको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *