विराटनगर । कोसी प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। पछिल्लो तीन दिनदेखि परेको लगातारको वर्षाका कारण ४४ जनाको मृत्यु भएको छ भने करिब २७ हजार जना विस्थापित भएका छन्।

सबैभन्दा ठूलो क्षति इलाममा भएको छ, जहाँ पहिरोमा परेर ७ जना बालबालिकासहित ३७ जनाले ज्यान गुमाएका छन्। यस्तै मोरङमा एक, सुनसरीमा एक, उदयपुरमा दुई र खोटाङमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार पहिरो र बाढीका कारण १४ स्थानमा सडक अवरुद्ध छन्। मेची राजमार्गअन्तर्गत इलाम र सुनसरीमा एक/एक स्थान, धनकुटामा तीन, भोजपुर र सङ्खुवासभामा दुई/दुई, उदयपुरमा चार र ओखलढुंगामा एक स्थानमा सडक आवागमन बन्द भएको छ।

बाढीपहिरोले थुप्रै घरपरिवार विस्थापित भएका छन्। विशेष गरी झापा जिल्लामा ४७५ घर डुबानमा परेका छन् भने ५ हजार ४८१ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यस जिल्लामा मात्रै २५ हजार २३१ जना प्रभावित भएका छन्।

मोरङमा ३५० जनाको उद्धार गरिएको छ। त्यहाँ ३८६ घरका १ हजार ५६८ जना प्रभावित छन्। सुनसरीमा १३२ जना, धनकुटामा १५ जना, उदयपुरमा ३५ जना र सोलुखुम्बुमा ३ घर परिवार विस्थापित भएका छन्।

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुव कुमार श्रेष्ठका अनुसार हालसम्म कोसी प्रदेशमा ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा राख्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

झापा, मोरङ, सुनसरी लगायतका तराई जिल्लामा केही सुधार देखिए पनि कोसीका पहाडी जिल्लामा अझै मौसम नखुलेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *